Ecclesiastes (Nepali)

Ecclesiastes (Nepali)

1

1:1b.ECC.001.001 यी उपदेशकका वचन हुन्। उपदेशकहरू दाऊदका पुत्र यरूशलेमका राजाका थिए।

1:2b.ECC.001.002 उपदेशकको भनाइ छ; सबै थोक व्यर्थैका छन र अकारथ छ। अर्थात् सब कुरा व्यर्थ छ।

1:3b.ECC.001.003 यस जीवनमा मानिसहरू जुन किसिमले मेहनत गर्छन्, त्यसबाट तिनीहरूलाई साँच्चै कुनै लाभ हुन्छ र?

1:4b.ECC.001.004 एउटा पिँढी आउँछ र जान्छ तर संसार चलिरहन्छ।

1:5b.ECC.001.005 सूर्य उदाउँछ र अस्ताउँछ तर भोलिपल्ट त्यसै ठाँउबाट उदाउनलाई फेरि हतारिन्छ।

1:6b.ECC.001.006 हावा दक्षिणतिर बहन्छ र यो उत्तरतिर पनि बहन्छ। हावा एक ठाउँदेखि अर्कोमा बहन्छ अनि त्यहीं फेरी फर्केर जहाँबाट बहेको थियो त्यहीं आउँछ।

1:7b.ECC.001.007 सबै नदीहरू एकै तिर बगिनै रहन्छन्। ती सबै समुद्रमा आएर मिसिन्छन्। तर पनि समुद्र कहिल्यै भरिँदैन।

1:8b.ECC.001.008 शब्दले वस्तुहरूको पूरा वर्णन गर्न सक्दैन। मानिसहरू र आफ्नो विचार व्यक्त गर्न सक्दैनन् तर पनि मानिसहरू बोलि नै रहन्छन्। शब्द हाम्रो कानमा बारम्बार परिरहन्छन्, तर तिनले हाम्रो कान भरिंदैनन्। हाम्रा आँखाले, जे-जति पनि देख्छन्, तीबाट कहिल्यै अघाउँदैनन्।

1:9b.ECC.001.009 शुरू देखि जुन कुरो जस्तो छ, त्यस्तै नै छ। जस्तो भएर आइरहेको छ सबै थोक त्यस्तै रहिरहन्छ। यस जीवनमा नयाँ भन्ने केही छैन।

1:10b.ECC.001.010 कसैले भन्न सक्छ, “हेर, यो कुरो नयाँ रहेछ।” तर त्यो धेरै अघि देखि थियो, त्यो त हामी भन्दा पनि पहिले भएको थियो।

1:11b.ECC.001.011 धेरै अघि घटेका कुराहरू मानिसहरू याद गर्दैनन् र अहिले घटेका कुराहरू भविष्यमा पनि याद गर्दैनन्। त्यस पछि पनि ती अरू कुराहरूको याद राख्दैनन् जुन उनीहरू भन्दा अघिका मानिसहरूले गरेका थिए।

1:12b.ECC.001.012 म, जो अहिले प्रचारक हुँ, एक समयमा यरूशलेममा इस्राएलको राजा थिएँ।

1:13b.ECC.001.013 मैले निश्चय गरें, यस जीवनमा जे कुरा हुन्छ, त्यसलाई बुझ्न आफ्नो बुद्धि प्रयोग गर्दै त्यसलाई अध्ययन गर्छु। मैले बुझे, परमेश्वरले मानिसहरूलाई गर्नु भनी जुन कुराहरू दिनुभयो त्यो खुबै कठिन रहेछ।

1:14b.ECC.001.014 सबै कामहरू जुन यो पृथ्वीमा गरें मैले तिनीहरूमाथि हेरें र देखें कि यी सबै व्यर्थका हुन्। यो ठीक त्यस्तै हो जस्तो हावालाई पक्रनु।

1:15b.ECC.001.015 तिमी ती कुराहरूलाई बदल्न सक्दैनौ। यदि कुनै कुरो टेढो छ भने त्यसलाई तिमीले सोझो बनाउँन सक्दैनौ र यदि कुनै वस्तुको अभाव छ भने तिमीले त्यसलाई भर्न सक्दैनौ।

1:16b.ECC.001.016 मैले आफैंलाई भनें, “म खुबै बुद्धिमान् छु। म भन्दा अघि यरूशलेममा जति पनि राजाहरूले राज गरे, म ती सबै राजाहरू भन्दा अधिक बुद्धिमान् छु। म जान्दछु वास्तवमा बुद्धि र ज्ञान के हो?

1:17b.ECC.001.017 मैले यो पनि जान्ने निश्चय गरें कि मूर्खता पूर्ण चिन्तन भन्दा विवेक र ज्ञान कसरी श्रेष्ठ छन्। तर मलाई ज्ञान भयो विवेकी बन्ने प्रयास पनि त्यस्तै रहेछ जस्तो हावालाई पक्रने प्रयासगर्नु।

1:18b.ECC.001.018 किन कि अधिक ज्ञानले त्यसै हतासा उब्जँदो रहेछ। जसले अधिक ज्ञान प्राप्त गर्दछ उसले त्यतिनै दुख पनि प्राप्त गर्दछ।

2

2:1b.ECC.002.001 मैले आफैले विचार गरें म खुशी हुने चेष्टा गर्छु अनि आनन्द लिन्छु।” तर मैले बुझें, यो पनि व्यर्थै रहेछ।

2:2b.ECC.002.002 हर समय हाँस्तै रहनु पनि मूर्खता हो। हाँसखेल बाट मेरो कुनै भलो भएन।

2:3b.ECC.002.003 तब मैले निश्चय गरें म आफ्नो शरीर दाखरसले भर्छु यद्यपि मेरो मनले मलाई ज्ञानकै बाटो देखाइरहेको थियो। मैले यस्तो मूर्खता पूर्ण आचरण देखाएँ किन कि मैले आनन्दको कुनै बाटो खोजिरहेको थिएँ। म चाहन्थें, मानिसहरूको लागि आफ्नो जीवनका थोरै दिनहरूमा के गर्नु उत्तम हो, त्यो खोजून्।

2:4b.ECC.002.004 अनि मैले ठूला-ठूला काम गर्न शुरू गरें। मैले आफ्नो लागि घरहरू बनाएँ र दाखको बगैंचा लगाएँ।

2:5b.ECC.002.005 मैले फूलबारी र बगैंचा बनाएँ। मैले सबै किसिमका फलहरूको रूख रोपें।

2:6b.ECC.002.006 मैले आफ्नो लागि पानीको तलाऊ बनाएँ अनि फेरि ती तलाऊको पानीलाई बडन लागेका मेरा रूखहरूमा हाल्ने काममा लगाएँ।

2:7b.ECC.002.007 मैले नोकर-नोकर्नीहरू किनें। घरमा जन्मेका नोकर-नोकर्नीहरू त छँदै थिए। म ठूला-ठूला कुराहरूको मालिक बनें। मसित बथानका-बथान गाई-गोरू र भेडा बाख्राहरू थिए। यरूशलेममा अघि भएका राजाहरूको भन्दा मसंग धेरै चीजहरू थिए।

2:8b.ECC.002.008 मैले आफ्नो लागि सुन चाँदि जम्मा गरें। मैले अरू राजाहरू र तिनीहरूका देशहरूबाट पनि धन-दौलत जम्मा गरें। म सित थुप्रै नाच्ने-गाउने स्त्री-पुरूषहरू थिए।

2:9b.ECC.002.009 म सित चाहिएका जति सबै कुरा थिए। म खुब धनी र महान भएँ। म भन्दा अघि यरूशलेममा जो रहन्थे ती भन्दा पनि महान थिएँ। मेरो बुद्धिले सधैं मेरो सहायता गर्ने गर्दथ्यो।

2:10b.ECC.002.010 मेरा आखाँले जे देख्थे र चाहन्थें तिनीहरूलाई मैले प्राप्त गरें। म जे गर्थें, मेरो मन सधैं त्यसले प्रसन्न हुन्थ्यो र त्यो प्रसन्नता मेरो कठोर परिश्रमको फल थियो।

2:11b.ECC.002.011 मैले गरेका सबै कुराहरूमा नजर लगाएँ अनि आफूले गरेका कठिन परिश्रमको बारेमा विचार गर्दा मलाई लाग्यो त्यो सब समयको बरबादी मात्र थियो। यो हावालाई समाउने चेष्टा गरे जस्तो मात्र थियो। मानिसहरूले तिनीहरूको जीवनमा गरेको कठिन परिश्रमबाट केही प्रप्त गर्न सक्दैन।

2:12b.ECC.002.012 मैले बुद्धि पागलपन र मूर्खता के रहेछन् सो हेर्न निर्णय गरें, जब एउटा राजाले अर्को राजाको ठाउँ लिन्छ भने, त्यहाँ केही पनि नयाँ कुराहरू नयाँ राजाको निम्ति गर्नेछैन, किनभने यो पहिले नै गरिसकेको हुन्छ।

2:13b.ECC.002.013 मैले बुझें मूर्खता भन्दा बुद्धि त्यत्तिनै उत्तम हो त्यति अँध्यारो भन्दा उज्यालो उत्तम हो।

2:14b.ECC.002.014 यो त्यस्तै हो जस्तो एक बुद्धिमान मानिस, त्यो कहाँ जाँदैछ, त्यो हेर्नलाई आफ्ना आखाँले जस्तै उसको बुद्धिले हेर्छ। तर एउटा मूर्ख मानिस अध्याँरामा हिड्ंने मानिस जस्तै हो। तर मैले यो पनि देखेको छु कि मूर्ख र बुद्धिमान दुवैका अन्त्य एकै प्रकारले भएको छ। अन्तमा दुबै मृत्युको मुखमा पर्दछन्।

2:15b.ECC.002.015 मैले आफ्नो मनमा सोचें, ‘कुनै’ मूर्ख मानिसलाई जे परिआउँछ त्यो मलाई पनि परिआउँनेछ भने यति बुद्धिमान बन्नाको लागि यति कठिन परिश्रम मैले किन गरें?” मैले आफैलाई भनें, “बुद्धिमान बन्नु पनि बेकार रहेछ।”

2:16b.ECC.002.016 बुद्धिमान मानिस र मूर्ख मानिस दुवै मर्ने नै छ। र मानिसहरूले सँधै न बुद्धिमानलाई सम्झन्छन् न कुनै मूर्खलाई नै तिनीहरूले जे-जति गरेका थिए, पछि मानिसहरूले भूल्छन्। यसरी बुद्धिमान मानिस र मूर्ख मानिस वास्तवमा एउटै जस्तो रहेछ।

2:17b.ECC.002.017 यस कारणले मलाई जीवनसित घिन लाग्छ। जीवनमा जो जति छ सब व्यर्थ छ, भन्ने विचारले म खिन्न भएँ। यो हावालाई पक्रन खोज्नु जस्तै हो।

2:18b.ECC.002.018 मैले जुन कठिन परिश्रम गरें, त्यसलाई घिनाउँन थाले। मैले देखें, म पछि बाँच्नेहरूले मेरो कठिन परिश्रमको फल पाउँछन्। म त ती वस्तुहरू लिएर जाँदिन।

2:19b.ECC.002.019 जुन कुराहरूका लागि मैले यति मन लगाई परिश्रम गरें ती सब माथि अरूकै अधिकार हुनेछ र म यो पनि जान्दिन कि त्यो अधिकार जमाउने मानिस बुद्धिमान हुन्छ कि मूर्ख। तर यी सब पनि त व्यर्थ नै रहेछन्।

2:20b.ECC.002.020 यसकारण मैले जे जति कठिन परिश्रमहरू गरेको थिएँ, ती सबलाई सोचेर म दुखीत भएँ।

2:21b.ECC.002.021 एउटा मानिसले आफ्नो बुद्धि, आफ्नो ज्ञान र आफ्नो चतुर्यांईलाई काममा लाएर कठोर परिश्रम गर्दछ। तर त्यो मानिस मर्दछ र जुन कुराको लागि उसले त्यतिको परिश्रम गर्यो त्यो कुनै अर्कैले पाउँछ। त्यो पाउनेले ती कुराहरूको लागि कुनै काम त गरेको थिएन, र पनि उसलाई ती सब हात पर्ने छ। यसले मलाई ठूलो दुख लाग्छ। यो न्याय पूर्ण कुरो होइन। यो विवेक पूर्ण कुरो पनि होइन।

2:22b.ECC.002.022 आफ्नो सारा जीवनमा त्यतिको परिश्रम गरेर उसले आखिरमा के पाउँछ?

2:23b.ECC.002.023 सारा जीवनमा परिश्रम गर्यो तर पीडा र निराशा बाहेक उसको हातमा केही पर्ने होइन। रातको समयमा पनि मानिसको मनले विश्राम पाउँदैन यी सब पनि व्यर्थको हुन्।

2:26b.ECC.002.026 यदि कसैले परमेश्वरलाइ प्रसन्न गरे परमेश्वरले उसलाई ज्ञान, बुद्धि र आनन्द दिनुहुन्छ। तर जसले उहाँलाई खिन्न पार्छन, त्यो त खाली वस्तुहरू थुपार्ने र त्यसलाई बोक्ने काम मात्र गर्दछ। परमेश्वरले खराब मानिसहरूबाट लिएर असल मानिसहरूलाई दिनुहुन्छ। यसकारण यी सब काम व्यर्थ छन्। यो पनि हावालाई पक्रने काम जस्तो मात्र हो।

3

3:1b.ECC.003.001 प्रत्येक कुराको लागि एउटा उचित समय छ र यो पृथ्वीमा प्रत्येक कुराको सही समयमा हुन्छ।

3:2b.ECC.003.002 जन्म लिने एउटा निश्चित समय छ, र मृत्युको पनि। रूख रोप्ने एउटा समय हुन्छ, अनि त्यसलाई उखेल्ने एउटा समय छ।

3:3b.ECC.003.003 त्यहाँ मार्ने एउटा समय छ, निको पार्ने एउटा समय, भत्काउने एउटा समय छ, बनाउने एउटा समय।

3:4b.ECC.003.004 कराउने र रूने एउटा समय हुन्छ अनि हाँस्ने र आनन्द गर्ने एउटा समय हुन्छ। शोक मनाउने एउटा समय छ र नाच्ने र गाउने एउटा समय हुन्छ।

3:5b.ECC.003.005 एक समय हुन्छ ढुङ्गा फ्याँक्ने एक समय हुन्छ ढुङ्गा थुपार्ने। कसैलाई अंगालोमा हाल्ने एक समय हुन्छ त्यसै छोडिदिने एउटा समय हुन्छ।

3:6b.ECC.003.006 एक समय हुन्छ कुनै चीज खोज्ने र एक समय हुन्छ हराओस् भन्ने एकसमय हुन्छ कतै फालि दिने एक समय हुन्छ र खोज्ने एक समय हुन्छ।

3:7b.ECC.003.007 त्यहाँ लुगा च्यात्ने एउटा समय छ र लुगा सिलाउने एउटा समय। त्यहाँ एउटा चुपचाप रहने समय छ बोल्ने एउटा समय छ।

3:8b.ECC.003.008 एक समय हुन्छ माया गर्ने, एक समय हुन्छ घृणा गर्ने, एक समय हुन्छ झगडा गर्ने र एक समय हुन्छ मेल-मिलाप गर्ने।

3:9b.ECC.003.009 के मानिसले आफ्नो कठोर परिश्रमबाट वास्तवमा केही पाउँछ?

3:10b.ECC.003.010 मैले त्यो कठोर परिश्रम देखेको छु जुन परमेश्वरले हामीलाई गर्नको लागि दिनु भएको छ।

3:11b.ECC.003.011 परमेश्वरले मानिसहरूको हृदयमा बितेको समय र आउने समयको चेतना राखि दिनुभएको छ। तर परमेश्वरले के गर्नुहुन्छ ती कुराहरू हामी पूर्णरूपले कहिल्यै बुझ्न सक्दैनौं। तर पनि परमेश्वरले हरेक कुरा उचित र उपयुक्त समयमा गर्नुहुन्छ।

3:12b.ECC.003.012 मैले बुझें कि मानिसहरूको निम्ति सबैभन्दा उत्तम कुरो यही हो, उसको जीवनमा आनन्द लिनु र असल गर्नु हो।

3:13b.ECC.003.013 परमेश्वर चाहनुहुन्छ कि प्रत्येक मानिसले खाओस्, पियोस् र आफ्नो काममा आनन्द लिइरहोस्। यी कुराहरू परमेश्वरबाट पाइएको उपहार हुन्।

3:14b.ECC.003.014 म जान्दछु परमेश्वरले जे घटित गर्नुहुन्छ त्यो सदा घट्छ नै। मानिसले परमेश्वरको कामलाई एक रति बडाउन पनि सक्दैनन् र एक रति घटाउन पनि सक्दैनन्। परमेश्वरले यस्तो यसकारण गर्नुभयो कि मानिसहरूले उहाँको आदर गरून्।

3:15b.ECC.003.015 जुन अहिले भइरहेको छ त्यो पहिले पनि भएकै हो। भविष्यमा के हुनेछ त्यो पहिले पनि भएकै थियो। जे हुन गयो परमेश्वरले त्यसको लेखा लिनुहुन्छ।

3:16b.ECC.003.016 यस जीवनमा मैले यी कुराहरू पनि देखेको छु, कि न्यायालय जहाँ न्याय र भलाई हुनुपर्छ, तर त्यहाँ आज खराब मात्र पाइन्छ।

3:17b.ECC.003.017 यसकारण मैले आफ्नो मनमा भनें, ‘त्यहाँ हरेक कुरा अनि हरेक कार्यको निम्ति सही समय छ। परमेश्वरले भलो मानिस र खराब मानिसको न्याय गर्नु नै हुन्छ।

3:18b.ECC.003.018 मैले मानिसहरूको विषयमा सोचें अनि आफैंलाई भनें, ‘परमेश्वर चाहनुहुन्छ कि मानिसहरू आफूले आफूलाई त्यही रूपमा देखोस् जुन रूपमा तिनीहरूले त्यो पशुहरूलाई देख्दछन्।”

3:19b.ECC.003.019 के एउटा मानिस पशु भन्दा उत्तम छ? छैन! किन? किन कि हर कुरो व्यर्थ छ। मानिस तथा पशुहरू एउटै तरीकामा मर्छन्। तिनीहरू पृथ्वीमा आउँछन् पृथ्वीमा नै शेष हुन्छन्।

3:20b.ECC.003.020 मानिसहरू र पशुहरूको देहको अन्त एकै प्रकारले हुन्छ। तिनीहरू माटोवाट आएका हुन् अनि माटोमा नै मिल्छन।

3:21b.ECC.003.021 कसले जान्दछ कि मानिसको आत्मालाई के हुन्छ? कसले जान्दछ मानिसहरूको आत्मा परमेश्वर कहाँ जान्छ अनि पशुहरूको आत्मा तल जमीनभित्र जान्छ?

3:22b.ECC.003.022 यसकारण मैले बुझें कि मानिसले गर्नु पर्ने सब भन्दा असल काम हो आफ्नो काममा आनन्द उपभोग गर्नु। एकजना मानिसलाई भविष्यमा के हुनेवाला छ देखाउन सक्तैन।

4

4:1b.ECC.004.001 मैले फेरि यो पनि बुझे कि कसै सित नराम्रो ब्याहावार गरिन्छ। मैले उसको आँसु देखेको छु र फेरि यो पनि देखेको छु कि ती दुखीहरूलाई सान्तवना सम्म दिने पनि कोही हुँदैन। मैले बुझेको छु, कठोर मानिसहरू सित सम्पूर्ण शक्ति हुन्छ, र तिनीहरूले जसलाई क्षति पुर्याँउछन् उनीहरूलाई ढाडस दिने कोही पनि हुँदैन।

4:2b.ECC.004.002 म यो निणर्यमा पुगें कि ती जो मरिसकेकाहरू छन् तिनीहरू अझै बाँचिरहनेहरू भन्दा असल छन्।

4:3b.ECC.004.003 अझ यो भन्दा असल जो अहिलेसम्म जन्मेको छैनन् तिनीहरूलाई छ। किन? किनभने, तिनीहरूले यस संसारको खराबी देखेका छैनन्।

4:4b.ECC.004.004 मैले फेरि सोचें, ‘मानिसहरू यति कठोर परिश्रम किन गर्छन्।’ मैले बुझें मानिस सफल हुनालाई र अरूहरू भन्दा ठूलो बन्नालाई परिश्रम गरिरहन्छन्। यस्तो कोशिश यसकारण गरिन्छ कि मानिस इर्ष्यालु हुन्छन्। आफ्नोमा जति छ, अरूकोमा त्यो भन्दा धेर नहोस् भन्ने उनीहरू चाँहन्छन्। यी सब अर्थहीन कुराहरू हुन्। यो हावालाई पक्रनु जस्तो हो।

4:5b.ECC.004.005 कति मानिस भन्छन्, हात बाँधेर बसिरहनु केही नगर्नु मूर्खता हो। यदि तिमी काम गर्दैनौ भने भोकै मर्छौ।

4:6b.ECC.004.006 धेरै भन्दा धेरै पाउँन हावाको पछि झगडा गर्दै भाग्नु भन्दा तिम्रो हातमा जे छ यसमा सन्तोषजनक भएर बस्नु असल हो।

4:7b.ECC.004.007 फेरि मैले अर्को पनि एउटा कुरो देखेका छु जसको कुनै अर्थ छैन

4:8b.ECC.004.008 एउटा मानिस सन्तानहीन हुन सक्छ। हुनसक्छ उसको कुनै छोरो वा यहाँसम्म कि कुनै दाज्यू-भाइ पनि छैनन् तर पनि त्यो मानिसले कठोर भन्दा कठोर परिश्रम गर्नमा लागिरहेको हुन्छ र जे जति उसित छ त्यतिबाट ऊ कहिल्यै सन्तुष्ट हुँदैन। तब म पनि यति कठोर मेहनत किन गर्दैछु? म आफैं पनि यस जीवनको आनन्द किन लिंदिन। अब हेर यो पनि एउटा दुखको र व्यर्थ कै कुरो हो।

4:9b.ECC.004.009 एक जना भन्दा दुइजना मानिस राम्रो हो। जब दुइ जना मिलेर सँगै काम गर्छन् भने जुन काम गर्छन् त्यसमा अधिक लाभ पाउँदछन्।

4:10b.ECC.004.010 यदि एक जना लडे अर्काले उठाउँदछ। तर कसैको लागि पनि एक्लो रहन राम्रो होइन, किनकि जब त्यो लडछ उसलाई सहायता गर्ने त्यहाँ कोही अर्को हुने छैन।

4:11b.ECC.004.011 यदि दुइजना एक साथ सुते त्यहाँ तातो हुनेछ, तर एक्लो सुत्ने मानिस तातिंदैन।

4:12b.ECC.004.012 एक्लो मानिसलाई शत्रुले हराउँन सक्छ, तर त्यही शत्रुले दुइजनालाई हराउँन सक्दैन, अनि तीन जनाको शक्ति त अझै धेरै हुँदछ। ती एउटा यस्तो डोरी जस्तो हुन्छन्, जो तीन पोयाले बाटिएको हुन्छ। त्यसलाई चुँडाउन कठिन पर्छ।

4:13b.ECC.004.013 एक जना गरीब तर बुद्धिमान युवा शासक, एउटा बृद्ध तथा मूर्ख राजाभन्दा असल हुन्छ। त्यो बृद्ध राजाले चेताउनीहरूमा ध्यानै दिंदैन।

4:14b.ECC.004.014 हुन सक्छ त्यो युवा शासक त्यस राज्यमा गरीब भएर जन्मेको होस् र हुनसक्छ ऊ जेलबाट छुटेर देशमा शासन गर्न आएको होस्।

4:15b.ECC.004.015 तर मैले यस जीवनमा देखेको छु र जान्दछु, मानिसहरू त्यस दोस्रा युवा शासकलाई नै मान्ने छन् र उही नयाँ राजा बन्ने छ।

4:16b.ECC.004.016 धेरै जना त्यस युवकका पछि लाग्नेछन्। तर पछि गएर ती मानिसहरूले उसलाई पनि मन पराउने छैनन् र यी सब पनि व्यर्थै हुन्। यो पनि त्यही हावालाई पक्रने प्रयास जस्तै हो।

5

5:1b.ECC.005.001 परमेश्वरको उपासना गर्न जाँदा खुबै होशियार होऊ। अज्ञानीहरूले जस्तो परमेश्वरलाई बली चढाउनु भन्दा उनको आज्ञा मान्नु धेरै राम्रो हो अज्ञानीहरू प्राय खराब काम गर्ने गर्छन् र के गर्दैछन् त्यो पनि जान्दैनन्।

5:2b.ECC.005.002 परमेश्वरसित प्रतिज्ञा गर्ने बेलामा होशियार होऊ। परमेश्वरसित प्रतिज्ञाहरू गर्नमा हतार नगर। परमेश्वर स्वर्गमा हुनुहुन्छ र तिमी पृथ्वीमा छौ। यसकारण तिमीले परमेश्वरसंग एकदमै कम बोल्नु पर्छ। यो उखान साँचो छ

5:3b.ECC.005.003 धेरै चिन्ता गर्नाले खराब सपना देखिन्छ। र धेरै बोल्नाले मूर्ख कुरा उब्जन्छ।

5:4b.ECC.005.004 यदि तिमीले परमेश्वरसंग कुनै कुराको प्रतिज्ञा गर्छौ भने पुरा गर्नमा दिलो नगर। परमेश्वर मूर्ख मानिसहरूसंग खुशी हुनुहुन्न। तिमीले परमेश्वरलाई जुन कुरो चढाउँने प्रतिज्ञा गरेका छौ त्यो चढाऊ।

5:5b.ECC.005.005 बरू कुनै भाकलै नगर्नु राम्रो हो तर भाकल गरेर पूरा नगर्नु राम्रो होइन।

5:6b.ECC.005.006 यसर्थ तिम्रो आफ्नै शब्दहरूले आफैंलाई पापमा पतन नगराओस् पूजाहारीलाई नभन, “मैले जे कुरा भनें त्यसको अर्थ यो होइन!” तिमीले यसो गर्यौ भने परमेश्वर तिम्रा शब्दहरूमा रिसाउनुहुनेछ, जुन कुराको निम्ति तिमीले कर्म गरेका छौ ती सबै नष्ट पारिदिनु हुनेछ।

5:7b.ECC.005.007 धेरै सपनाहरू देख्नाले र शेखी गर्नाले व्यर्थको कुराहरूमा डोर्याउँछ। तिमीले परमेश्वरलाई आदर गर्नुपर्छ।

5:8b.ECC.005.008 कतिपय देशहरूमा तिमीले यस्ता दीन-हीन मानिसहरू देख्छौ जसलाई कठोर मेहनत गर्न वाध्य गरिन्छ। तिमी बुझ्न सक्छौ कि गरीबहरू प्रति यस्तो व्यवहार राम्रो होइन। यो गरीबहरूको अधिकारको विरूद्ध ठहरिन्छ। तर अचम्म नमान। जो शासकले ती मानिसहरूलाई काम गर्न वाध्य तुल्याउँछन् तिनलाई वाध्य तुल्याउने अर्को शासक पनि हुन्छन्। अनि अझै अर्को एक शासक पनि हुन्छ, जसले यी दुवै शासकहरूलाई काम गर्न वाध्य गराउँछन्।

5:9b.ECC.005.009 यति हुँदाहुँदै पनि कुनै खेती गर्न योग्य भूमिमा एउटा राजा हुनु देशको निम्ति लाभदायक हो। राजा पनि अन्तमा एउटा दास नै हो।

5:10b.ECC.005.010 जसले धनलाई प्रेम गर्छ त्यो आफूसित भएको धनले कहिल्यै सन्तुष्ट हुँदैन। जसले धनलाई प्रेम गर्छ, धेरै भन्दा धेरै धन प्राप्त गरे पनि उसको मन कहिल्यै अघाउँदैन। यसकारण धन पनि व्यर्थै हो।

5:11b.ECC.005.011 कसैसित जति धेरै धन हुन्छ, उसलाई खर्च गर्नको निम्ति त्यति नै धेरै साथीहरू हुन्छन्। यसकारण त्यस धनी मानिसलाई वास्तवमा प्राप्त केही हुने होइन्। उसले आफ्नो धनलाई मात्र हेरिबस्न सक्छ।

5:12b.ECC.005.012 जसले सारा दिन कडा मेहनत गर्छ, ऊ घर गएर चैन साथ सुत्न सक्छ। उसलाई खान कम छ कि धेरै छ केही खाँचो पर्दैन। तर धनी मानिस आफ्नो धनको चिन्तामा नै डुबिरहन्छ र सुत्नसम्म पनि सक्दैन्।

5:13b.ECC.005.013 मैले यस जीवनमा धेरै दुखको कुरो घटेको देखेको छु। मानिसले भविष्यको लागि धन सञ्चय गर्छन् तर त्यसले नोक्सानी पुर्याउँछ।

5:14b.ECC.005.014 अनि केही नराम्रो घटना घट्छ र उसको सबै कुरा जान्छ र त्यस मानिससित आफ्नो छोरालाई दिने पनि केही रहँदैन।

5:15b.ECC.005.015 एक मानिस आफ्नो आमाको गर्भबाट खाली हात आँउछ। जब त्यस मानिसको मृत्यु हुँन्छ, उ आफूसित केही नलिई सबै कुरा यही छोडेर जाँदछ। सम्पत्ति थुपार्न उसले कठोर परिश्रम गर्दछ तर जब मर्छ उ आफूसित केही लिएर जान सक्दैन।

5:16b.ECC.005.016 यो बडा दुखको कुरो हो। यस संसारलाई उसले त्यसरी नै छोड्नु पर्छ जसरी उ आएको थियो। यसकारण ‘हावालाई पक्रने कोशिश” गर्नाले के पाउन सक्छ?

5:17b.ECC.005.017 उसले यदि केही पाँउछ भने त्यो हो दुख र शोकले भरेको दिन, त्यसैले आखिरमा ऊ हताश, रोगी र रिसाहा बन्दछ।

5:18b.ECC.005.018 मैले त यो देखें कि मानिसले जे गर्न सक्छ त्यो सबैभन्दा असल रहेछ खान, पिऊन र जुन काम उसले यस धर्तीमा आफ्नो छोटो जीवनमा गर्छ त्यसमा आनन्द लिन्छ। परमेश्वरले यिनै केही दिनहरू दिनुभएको छ बस् यहि तिम्रो र उसको हो।

5:19b.ECC.005.019 यदि परमेश्वरले कसैलाई धन, सम्पत्ति र ती कुराहरूको आनन्द लिने शक्ति दिनुभएको छ भने उसले तिनको आनन्द लिन पर्छ। आफूसित जे जस्तो छ त्यसलाई स्वीकार गर्नुपर्छ र परमेश्वरबाट उपहार स्वरूप पाएको आफ्नो काममा आनन्द मनाउनु पर्छ।

5:20b.ECC.005.020 यसो भए त्यस्ता मानिसले कहिल्ये पनि जीवन छोटो छ भनी सोच्दैन। किन कि परमेश्वरले त्यस्तालाई त्यस्तै काममा लगाई राख्नुहुन्छ, जुन काम गर्नमा उसको रूचि हुँदछ।

6

6:1b.ECC.006.001 मैले जीवनमा अर्को कुरो पनि देखेकोछु जुन उचित होइन। धेरै मानिसहरूले यसको अनुभव गरेका छन्।

6:2b.ECC.006.002 त्यस मानिससित चाँहिंदो कुराहरू हुन्छन् र जति चाहन्छ त्यो पनि पाउँदछ। तर परमेश्वरले उसलाई ती कुराहरूको भोग गर्न दिनुहुन्न। कोही अर्कै आइपुग्छ र ती सबै थोकहरू खोसेर लैजान्छ। यो खुबै खराब र व्यर्थ कुरो हो।

6:3b.ECC.006.003 एकजना मानिस लामो समयसम्म बाच्छ अनि उसका एक सय नानीहरू हुन्छन्। तर यदि त्यो मानिस ती असल कुराहरूसित सन्तुष्ट नभए अनि उसको मृत्युपछि उसलाई सम्झना गर्ने कोही नभए, म त भन्छु कि त्यस मानिस भन्दा तुहेको बालकको भाग्य असल हुन्छ।

6:4b.ECC.006.004 त्यस बालकलाई कुनै नाम नदिई उसलाई एउटा अँध्यारो खाडलमा पुरिन्छ।

6:5b.ECC.006.005 त्यसता बालकले कहिल्यै सूर्य देख्दैन र केही कुरो पनी जान्दैन। तर त्यस मानिसको भाग्य! जसलाई परमेश्वरले दिएका कुराहरूको आनन्द कहिल्यै लिएन। त्योभन्दा त त्यस बालकले बडी चैन र शान्ति पाउँदछ।

6:6b.ECC.006.006 त्यस्ता मानिसहरू दुई हजार वर्ष बाँच्न सक्छन तर यदि तिनीहरूले जीवनमा आनन्द लिन नसके, त्यो राम्रो हो र हरेक मानिस अन्तमा त्यही ठाउँमा जान्छ।

6:7b.ECC.006.007 एउटा मानिसले निरन्तर काम गरिनै रहन्छ किन? किन कि उसलाई आफ्नो इच्छा पूरा गर्नु छ। तर उ सन्तुष्ट चाँहि कहिल्यै हुँदैन।

6:8b.ECC.006.008 यस प्रकारले एक बुद्धिमान मानिस पनि एक मूर्ख मानिस भन्दा धेरै राम्रो होइन। यस्तो दीन-हीन मनुष्य हुनुमा पनि के फायदा हुनसक्छ?

6:9b.ECC.006.009 एकोहोरो लागि रहनुमाभन्दा आफूसित जो छ त्यसैमा सन्तोष हुनु राम्रो हो। सधैं धेरै खोजिरहनु व्यर्थ हो। यो पनि हावालाई पक्रडन खोज्नु जस्तै हो।

6:10b.ECC.006.010 जे जति भइरहेको छ त्यो भूतकालमा नै वर्णन गरिसकेको छ कोही, मानिसहरूले तिनीहरू भन्दा बलियोलाई विरोध गर्न सक्दैन।

6:11b.ECC.006.011 यसकारण ज्यादा बोल्नु व्यर्थ हो।

6:12b.ECC.006.012 कसले जान्दछ मनुष्यको छोटो जीवनमा उसको लागि यस भूमिमा सबैभन्दा राम्रो के छ? उसको जीवन त छायाँ जस्तो हराइ हाल्छ। यस संसारमा भोली के हुन्छ भनी कुनै मानिसले भन्नसक्दैन।

7

7:1b.ECC.007.001 एउटा असल नाम हुनु सुगन्धित अत्तर भन्दा राम्रो हो। मृत्यु दिवस जन्म दिन भन्दा उत्तम हो।

7:2b.ECC.007.002 भोजको घरमा जानु भन्दा मलामी जानु असल हो। किन कि सबै एक दिन मर्नै पर्छ अनि हरेक जीवित प्राणीले यो सम्झनु पर्छ।

7:3b.ECC.007.003 हाँसो भन्दा शोक र सुर्ता राम्रो हो किनकि जब हाम्रो अनुहारमा विषाद छाँउछ तब हाम्रो हृदय कञ्चन बन्छ।

7:4b.ECC.007.004 ज्ञानीले सधें मृत्युबारे सोंच्छ तर मूर्खले रमाइला दिनहरू सम्झन्छ।

7:5b.ECC.007.005 मूर्खबाट प्रशांसित हुनुभन्दा ज्ञानीबाट निन्दित हुनु धेरै राम्रो।

7:6b.ECC.007.006 मूर्खहरूको हाँसो त बेकार हुन्छ जस्तो काँढाको आगो बालेर भाँडा तताउँछ।

7:7b.ECC.007.007 घुसले ज्ञानी मानिस भ्रष्ट हुन्छ अनि पैसाको उपहारले उसको हृदयलाई बिगारिदिन्छ।

7:8b.ECC.007.008 शुरू गरेको भन्दा अन्त गरेकै राम्रोहो अहंकारी को अधीनमा बस्नुभन्दा नम्र र धीरज भएकै राम्रो।

7:9b.ECC.007.009 छिटै रीसाउने नगर, किनकि रीसाहा बन्नु मूर्खता हो।

7:10b.ECC.007.010 नभन, “बितेका दिनहरूमा के भयो। तब चीजहरू अझ राम्रा थिए।” यस्तो प्रश्न गर्नु ज्ञानको कुरो होइन।

7:11b.ECC.007.011 जसरी धनी हुनु राम्रो हो त्यसरी नै ज्ञान हुनु पनि राम्रो हो। विवेक ती जो कोही जीउनेहरूको निम्ति श्रेष्ठता हो।

7:12b.ECC.007.012 धनी हुनु भन्दा ज्ञानी हुनु राम्रो हो। जीउँदो मानिसको लागि ज्ञान लाभदायक हो।

7:13b.ECC.007.013 परमेश्वरद्वारा सृजित वस्तुहरू हेर। यदि परमेश्वरले केही कुरा बाङ्गो बनाउनु भएको छ भने तिमीले त्यसलाई सोझो बनाउन सक्ने छैनौ।

7:14b.ECC.007.014 जब जीवन उत्तम छ भने त्यसबाट आनन्द लेऊ। तर जीवन कठिन छ भने याद गर परमेश्वरले हामीलाई कठिन समय पनि दिन्छन् र असल समय पनि दिन्छन्। अनि भोलि के हुन्छ त्यो कसैले जान्दैन।

7:15b.ECC.007.015 आफ्नो छोटो जीवनमा मैले सबैथोक देखेको छु। मैले देखेको छु राम्रा मानिस उमेरमा नै मर्छन् र मैले देखेको छु दुष्ट मानिस लामो आयु बाँच्छन्।

7:18b.ECC.007.018 अलिकति यस्तो बन, अलिकति उस्तो। परमेश्वरका अनुयायीहरूले पनि केही राम्रो काम गर्छन् केही नराम्रो।

7:19b.ECC.007.019 ज्ञानले मानिसलाई शक्ति दिन्छ, एउटा ज्ञानी मानिस शहरभित्र दशजना शासकहरू भन्दा शक्तिशाली हुन्छ।

7:20b.ECC.007.020 वास्तवमा यस संसारमा कोही असल मानिस छैन जसले असल कुरा मात्र गर्छ र दुष्ट काम कहिले गर्दैन।

7:21b.ECC.007.021 मानिसहरूले भनेका सबै कुरा नसुन तिम्रो आफ्नै नोकरले पनि तिमी बारे नराम्रो कुरा गर्नसक्छ।

7:22b.ECC.007.022 अनि तिमी जान्दछौ, तिमी आफैले पनि अरूहरूका बारेमा नराम्रो कुरा गरेका छौ।

7:23b.ECC.007.023 यी सबै कुराको बारेमा मैले आफ्नो बुद्धि र विचार लगाएँ। म साँच्चिकै बुद्धिमान बन्न खोजें तर त्यो असभ्भव थियो।

7:24b.ECC.007.024 किन म बुझ्न सक्दिन आखिर कुरो त्यही छ। जस्तो त्यो छ! कसैलाई पनि यो बुझ्न कठिन छ।

7:25b.ECC.007.025 साँचो ज्ञान पाउन मैले ठूलो परिश्रम र गहिरो अध्ययन गरें, हरेक कुराको कारण पत्तो लाउने चेष्टा गरें तर मैले जानें के? मैले यतिनै जाने कि दुष्ट बन्नु मूर्खता हो र मूर्ख व्यवहार गर्नु पागलपन हो।

7:26b.ECC.007.026 मैले यो पनि देखे कि कतिपय स्त्रीहरू धराप जस्तै खतरनाक हुन्छन्। तिनका हृदय जाल जस्ता र तिनका पाखुरा साङ्गला जस्ता हुन्छन्। त्यस्ता स्त्रीहरूका फन्दामा पर्नुभन्दा मर्नु निको। परमेश्वरका अनुयायी त्यस्ता स्त्रीहरूदेखि भाग्छन्। तर पापी तिनको फन्दामा पर्छ।

7:27b.ECC.007.027 उपदेशक भन्छन्, “मैले यी सब प्रश्नहरू एक साथ राखें अनि तिनीहरूको उत्तर खोजी गरें।

7:28b.ECC.007.028 उत्तर अझै खोजिरहेकोछु तर यति चाँहि जाने कि हजारमा एकजना साँचो पुरूष मैले पाएँ, तर साँचो नारी एउटै पनि पाइँन।

7:29b.ECC.007.029 अर्को एउटा कुरो पनि बुझें परमेश्वरले मनुष्यलाई राम्रो बनाउनु भएको थियो। तर मानिसहरू आफैले अनेकौं छलहरू बनाए।

8

8:1b.ECC.008.001 ज्ञानी मानिस जस्तो को छ? कसले वस्तुहरूको अर्थ लगाउनु सक्छ? ज्ञानले चिन्तित अनुहारलाई खुशीमा बदल्न सक्छ।

8:2b.ECC.008.002 म भन्छु, तिमीले सधैं राजाको आज्ञा पालन गर्नुपर्छ। किनकि तिमीले परमेश्वरलाई त्यसो गर्ने वचन दिएका छौ।

8:3b.ECC.008.003 यस विषयमा चिन्तित नहोऊ। जब उहाँले तिमीलाई पठाउनु हुन्छ उहाँलाई छोडिदेऊ। मामला मन नपर्ने भए पनि ढिलो नगर, किनकि राजाले उसको इच्छानुसार आज्ञा गर्नुहुन्छ।

8:4b.ECC.008.004 आज्ञा दिनु राजाको अधिकार हो। अनि यसो गर, उसो गर भनेर उनलाई कसैले भन्न सक्दैन।

8:5b.ECC.008.005 राजाको आज्ञा पालन जसले गर्छ उ सुरक्षित रहन्छ। तर बुद्धिमानीले यसो गर्दा उचित समय जान्दछ, अनि उचित कुरो कहिले गर्ने त्यो पनि जान्दछ।

8:6b.ECC.008.006 त्यहाँ धेरै कष्टहरू भए तापनि मानिससित प्रत्येक कुरा गर्ने सही समय र सही मार्ग छ।

8:7b.ECC.008.007 उसलाई थाहा हुदैन भविष्यमा के हुने हो, किन कि भविष्यमा के हुने हो उसलाई कसैले भन्न सक्दैन।

8:8b.ECC.008.008 कसैले पनि हावालाई आज्ञा दिन अथवा नियन्त्रित गर्न सक्दैन, आफ्नो मृत्यु रोक्ने शक्ति कसैको छैन। युद्धको समयमा एउटा सिपाहीलाई आफ्नो ठाउँ छोडेर आफूले भनेको ठाँउमा जाने स्वतन्त्र हुँदैन। त्यसरी नै यदि कसैले पापहरू गर्छ भने त्यो पापले उसलाई रक्षा गर्न सक्तैन।

8:9b.ECC.008.009 मैले यी सब कुराहरू देखें। यस संसारमा घट्ने सब कुराको बारेमा मैले खुबै गम्भिरता पूर्वक सोचें र देखें कि मानिस अरूमाथि शासन गर्ने शक्ति पाउन सदा संघर्ष गरिरहन्छन् र मानिसलाई कष्ट दिइरहन्छन्।

8:10b.ECC.008.010 मैले दुष्ट मानिसहरूको सजि-सजाउ र विशाल शवयात्रा देखें। देह दफन-क्रिया पछि घर फर्कन लागेका मलामीहरूले त्यस दुष्ट मानिसको गुणगान गरेको पनि सुनें। यस्तो त्यसै शहरमा हुनेगर्छ, जहाँ त्यस दुष्ट मानिसले धेरै किसिमको खराब कामहरू गरेको हुनछन्। त्यो पनि अर्थहीन नै हो।

8:11b.ECC.008.011 कहिले काहीं मानिसहरूले खराब काम गर्छन् त्यसको लागि उसलाई चाँडै दण्ड दिइँदैन। तिनले विस्तारै-विस्तारै दण्ड पाउँदै जान्छन्। त्यसैले गर्दा अरूहरू पनि खराब काम गर्न हिच्किचाउँदैनन्।

8:12b.ECC.008.012 एउटा पापीले सयौं पाप-कर्म गरोस् उसको आयु पनि लामै होस्। तर म यो जान्दछु, परमेश्वरको सम्मान गर्नु असल हो।

8:13b.ECC.008.013 खराब मानिसहरूले परमेश्वरको सम्मान गर्दैनन्। त्यसैले त्यस्ता मानिसहरूले वास्तवमा राम्रो कुराहरू पाउँदैनन्। त्यस्ता कुकर्मीहरू लामो समय सम्म बाँच्दैनन्। घाम अस्ताउने समयको छाया झैं लामो हुँदैन।

8:14b.ECC.008.014 यो धर्तीमा अर्को कुरो पनि छ जुन म ठिक ठान्दिनँ। दुष्ट मानिसलाई दुष्ट कुराहरूनै घट्नु पर्थ्यो अनि असल मानिसलाई असल कुरानै। तर कहिले काहीं असल मानिसलाई दुष्ट कुराहरू घट्छ, र दुष्ट मानिसलाई असल कुराहरू। यो गल्ती भएको जस्तो लाग्छ।

8:15b.ECC.008.015 यसैकारण मैले निश्चय गरें जीवनको आनन्द लिनु सबैभन्दा महत्वपूर्ण कुरो रहेछ। किन? किनकि यस जीवनमा एउटा मानिसले सबभन्दा राम्रो काम गर्नसक्छ, त्यो हो खानु, पिउनु र जीवनको आनन्द लिनु। यसले कमसेकम मानिसलाई यस भूमि उसको जीवन कालमा परमेश्वरले गर्नु भनी जो कठीन काम दिनुभएको छ त्यसको आनन्द लिनामा सहायता मिल्छ।

8:16b.ECC.008.016 यस जीवनमा मानिसहरूले गरेका काम मैले ध्यान पूर्वक अध्यान गरें। मैले देखें मानिसहरू अति नै व्यस्त छन्। ती रात दिन काम गर्छन र प्राय सुत्दैनन् पनि।

8:17b.ECC.008.017 परमेश्वरले गरेका थुप्रै कामहरू पनि मैले देखें। अनि परमेश्वरले जति काम यस भुमिमा गर्नुभयो त्यो मानिसहरूले बुझ्न सक्दैनन्। तिनीहरूले बुझ्न जति कोशिश गरून बुझ्दैनन् कुनै ज्ञानीले परमेश्वरको काम म बुझ्छु भने पनि त्यो साँचो होइन। ती सब कुरा कसैले बुझ्न सक्दैनन्।

9

9:1b.ECC.009.001 मैले यी सबै कुराहरू खुबै ध्यानपूर्वक सोचें र देखे भला र ज्ञानी मानिसहरूसित जे घट्छ अनि जुन काम तिनीहरू गर्छन् त्यसको नियन्त्रण परमेश्वरले गर्नुहुन्छ। मानिसहरू जान्दैनन् कि तिनले प्रेम पाँउछन् कि घृणा तिनीहरू जान्दैनन् कि भोलि के हुन्छ।

9:2b.ECC.009.002 तर एउटा कुरो यस्तो छ जुन प्रत्येकमाथि परिआउँछ हामी सबै मर्छौ। मृत्यु असल मानिसलाई पनि आउँछ, दुष्ट मानिसलाई पनि, मृत्यु पवित्र मानिसलाई पनि आँउछ र जो अपवित्र छ उसलाई पनि आउँछ। मृत्यु बलि चढाउनेलाई पनि आउँछ नचढाउनेलाई पनि आउँछ। असल मानिस पनि एउटा पापी जस्तै मर्दछ। परमेश्वरसंग विशेष प्रतिज्ञा गर्ने मानिस पनि, प्रतिज्ञा नगर्ने मानिस जस्तै मर्छ।

9:3b.ECC.009.003 यस जीवनमा जति पनि घटना घट्छ त्यसमा सबै भन्दा नराम्रो कुरो हो कि सबैको अन्त एकै प्रकारले हुन्छ। साथै यो पनि खुबै नराम्रो कुरो हो, कि मानिसहरू सधें खराब र मूर्ख बिचारमा डुबिरहन्छन्, अनि त्यस्ता बिचारले मृत्युतिर लैजाँन्छ।

9:4b.ECC.009.004 प्रत्येक जीवित मानिसले विश्वास गर्छन कि एउटा मरेको सिंह भन्दा जिउँदो कुकुर असल हो।

9:5b.ECC.009.005 जिउँदा मानिसहरू जान्दछन् कि उनीहरू एक दिन मर्नै पर्छ। तर मरेकाहरूले केही जान्दैन्‌न। मरेकाहरूले कुनै पुरस्कार पनि पाउने होइनन्। मानिसहरूले तिनलाई भूलिहाल्छन्।

9:6b.ECC.009.006 कुनै मानिस मरेपछि उसको प्रेम, घृणा, ईर्ष्या सब समाप्त हुन्छ। मृत मानिसले संसारमा जे सुकै भइरहोस त्यसको कुनै भाग लिने होइन। लिन सकिञ्जेल जीवनको आनन्द लेऊ।

9:7b.ECC.009.007 अब जाऊ अनि आफ्नो खाना खाऊ र आनन्द मनााऊ। दाखमध खाऊ र खुश होऊ। तिमीहरूले यति गर्न परमेश्वरबाट अनुमति छ।

9:8b.ECC.009.008 राम्रो लगाउ र तिम्रो टाउकोमा, सुगन्धित तेल लगाउ।

9:10b.ECC.009.010 हर समय गर्नको लागि तिमी सित काम छ, त्यसलाई तिमी जति राम्रोसित गर्नसक्छौ गर। चिहानमा त कुनै कामै हुँदैन। त्यहाँ न त चिन्तानै हुन्छ न ज्ञान, न विवेक नै। अनि मृत्युको त्यस ठाँउमा। हामी सबै त जाँदैछौं।

9:11b.ECC.009.011 यो जीवनमा मैले त्यो चाँडै दगुर्नेले सधैं दौडमा जितेको देखेको छैन् शक्तिशाली सेनाले नै युद्ध सधैं जित्दैन, महान ज्ञानी मानिसले आफ्नो कमाई सधैं खान पाँउदैन, ज्ञानी मानिसले सधैं सम्पत्ति पाँउदैन; अनि विवेकशील मानिसले सधै प्रशंसा पाउँदैन जुन उसले पाउनु पर्थ्यो। समय र अवसर प्रत्येकका निम्ति आँउछ।

9:12b.ECC.009.012 कसैले जान्दैन, यसपछि उसलाई के हुन्छ, ऊ त जालमा परेको माछा जस्तौ हो माछाले जान्दैन उसलाई के हुने हो। ऊ त पाशोमा परेको चरा जस्तौ हो चराले जान्दैन उसलाई के हुने हो। यस्तो प्रकारले मानिसलाई पनि भाग्यले फसाँउछ जो उसमाथि अचानक आइपर्छ।

9:13b.ECC.009.013 मानिसले जीवनमा विवेकपूर्ण काम गरेको पनि मैले देखेको छु। अनि त्यो मलाई खुबै महत्वपूर्ण लागेको छ।

9:14b.ECC.009.014 एउटा सानो शहर थियो जहाँ थोरै मानिसहरू बस्थे। एक जना ठूला राजाले त्यस शहरमा आक्रमण गर्न शहरका चारैतिर आफ्ना सेना तैनात गरे।

9:15b.ECC.009.015 तर त्यो शहरमा एकजना ज्ञानी मानिस बस्थे उनी गरीब थिए। आफ्नो शहर बचाउन उनले आफ्नो ज्ञान प्रयोग गरे। जब शहरमा आपत्ति टर्यो मानिसहरूले गरीब मानिसलाई पनि भुले।

9:16b.ECC.009.016 तर म अझै पनि भन्छु, बल भन्दा बुद्धि श्रेष्ठ हो। ती मानिसहरूले गरीब मानिसको ज्ञानको बारेमा भुले अनि उनले भनेका कुराहरू सुन्न छोडे।

9:17b.ECC.009.017 ज्ञानीले शान्तसित बोलेका थोरै शब्द मूर्ख शासकले चिच्च्याएको शब्दभन्दा धेरै राम्रो।

9:18b.ECC.009.018 ज्ञान युद्धको हात हतियार भन्दा धेरै असल हो। तर मूर्खले थुप्रै असल कुराहरूलाई नष्ट गर्दछ।

10

10:1b.ECC.010.001 मरेका थोरै झिंगाले उत्तम सुगन्धलाई पनि दुर्गन्धपूर्ण बनाउँदछन्। यसरी नै सानो मूर्खताले सम्पूर्ण बुद्धि र सम्मान नष्ट गर्दछ।

10:2b.ECC.010.002 ज्ञानीको विचारले उसलाई ठिक बाटोमा हिंडाउँदछ। तर मूर्खको विचारले उसलाई गलत बाटोमा हिँडाउँछ।

10:3b.ECC.010.003 मूर्ख बाटोमा हिडदाखेरि पनि आफ्नो मूर्खता दर्शाउँछ र हरेकले ऊ मूर्ख हो भन्ने कुरा जान्दछन्।

10:4b.ECC.010.004 मालिक रिसाए भन्दैमा आफ्नो काम नछोड। यदि तिमी शान्त र सहायक बनिरह्यौ भने तिमीले ठूला-ठूला गल्तीहरू सुधार्न सक्ने छौ।

10:5b.ECC.010.005 यहाँ केही भिन्नै कुराहरू पनि छन् जुन मैले आफ्नो जीवनमा देखेको छु। अनि यो न्याय संगत पनि छैन। यो त्यस्तो भूल हो जुन शासकहरूबाट हुन्छ।

10:6b.ECC.010.006 मूर्खहरूलाई महत्वपूर्ण ओहोदा दिइन्छ, जहाँ धनी मानिसहरूले यस्ता काम पाउंछन् जसको कुनै महत्व हुँदैन।

10:7b.ECC.010.007 नोकर बन्नु पर्नेहरू घोडामा चढेर हिंडेको पनि देखेको छु, जहाँ शासक बन्नु पर्नेहरू नोकर जस्ता भई तिनैका छेउछाऊ पैदलै हिंडिरहेका हुन्छन्।

10:8b.ECC.010.008 आफूले खनेको खाडलमा आफै पर्न सक्छन। पर्खाल भत्काउनेलाई साँपले डस्न पनि सक्छ।

10:9b.ECC.010.009 ढुङ्गाहरू त्यो मानिसमाथि झर्ने सक्छ जसले त्यसलाई चलाउँछ अनि जसले रूख काटेर ढाल्छ उसलाई चोट लाग्न सक्छ।

10:10b.ECC.010.010 तर बुद्धिले हर काम सुगम हुँन्छ। भुत्ते छुरीले काट्न कठीन पर्छ। तर कसैले छुरीलाई उध्याएर काटे त्यही सजिलो काम हुँन्छ ज्ञान त्यस्तै हो।

10:11b.ECC.010.011 लट्ठ्याउन अघिनै साँपले डस्यो भने सपेरालाई केही फाइदा हुँदैन।

10:12b.ECC.010.012 ज्ञानीका शब्दहरूले प्रशांसित तुल्याउँछन्, परन्तु मूर्खका शब्दहरूले विनाश गराउँछन।

10:13b.ECC.010.013 मूर्ख मानिसले मूर्खताबाट कुरा थाल्छ अन्तमा पागल कुरामा टुग्याउँदछ।

10:14b.ECC.010.014 मूर्खले धेरै कुराहरू गर्छ तर कसैलाई पनि थाहा हुदैन कि भविष्यमा के घट्छ। कसैले पनि भन्न सक्दैन भविष्यमा हुनेवाला छ।

10:15b.ECC.010.015 एउटा मूर्ख आफ्नै घरको बाटो पत्ता लाउनमा साह्रै बुद्धु बनिनु सक्छ, यसर्थ जुनकाम गर्ने चेष्टा गर्छ त्यसले उसलाई थकित बनाउँछ।

10:16b.ECC.010.016 देशको निम्ति यो खुबै खराब हो जुन देशको राजा बालक जस्तो छ। अनि कुनै देशको निम्ति पनि उत्तिकै खराब छ यो जहाँको राजा सारा समय खानैमा व्यस्त रहन्छ।

10:17b.ECC.010.017 तर जुन देशको राजा एउटा महान परिवारबाट आएको हुन्छ त्यस देशलाई खुबै असल हुन्छ। अनि भूमिलाई पनि फाइदा हुन्छ जब ती शासकहरूले ज्यादा खाँदैन अथवा मतुवा हुँदैनन्।

10:18b.ECC.010.018 अल्छेको घरमा पानी चुहिन थाल्छ र टाल्दै नटाली सबै छाना झर्छ।

10:19b.ECC.010.019 मानिस भोजनमा आनन्द लिन्छन् अनि दाखरसले जीवन अझै आनन्दित बनाउँछ। तर धनले नै सबै समस्या सुल्झाउँदछ।

10:20b.ECC.010.020 राजाको निन्दा नगर अनि महानुभाव र सम्पन्न मानिसहरूको बारेमा पनि निन्दा नगर। चाहे तिमी आफ्नो घरमा एक्लै किन नहोऊ, नराम्रो कुरै नगर। किन? किन कि कुनै एउटा सानो चरो उडेर गएर तिमीले भनेका सबै कुरा तिनीहरूलाई सुनाइदेला।

11

11:1b.ECC.011.001 विभिन्न धन्दाहरूका कुराहरूमा पैसा लगाओ बिस्तारै त्यसले फाइदा ल्याउँछ।

11:2b.ECC.011.002 जो कुरा तिमीसित छ त्यसलाई थुप्रै काममा लगाऊ। बाँडचुड गर। तिमी जान्दैनौ यस भूमिमा कहिले के घटन सक्छ।

11:3b.ECC.011.003 कति कुरा यस्ता छन् जस बारे तिमी निश्चिन्त रहन सक्छौ। बादल पानीले पूर्ण छ भने धर्तीमा वर्षा हुन्छ। एउटा रूख उत्तरपट्टि दशिण पट्टि, जता ढले पनि त्यही तेर्सिरहन्छ।

11:4b.ECC.011.004 तर कति कुरा यस्ता हुन्छन्, जसको निम्ति निश्चिन्त रहन सक्दैनौ। तिमीले अवसर छोप्नु पर्छ। कसैले ठीक मौसम पर्खि बसे उसले कहिल्यै बिउ छर्न सक्दैन। अनि कोहीले हर बादल र्बषन्छ नै भनी डराए उसले आफ्नो अन्न उठाउनै सक्दैन।

11:5b.ECC.011.005 तिमी जान्दैनौ हावा कुन ठाउँमा बहन्छ यस्तै प्रकाले तिमी जान्दैनौ कसरी एउटा आमाको गर्भमा एउटा नानीले सास फेर्छ। त्यसरी नै सबै थोकका सृजक परमेश्वरका कामलाई तिमी जान्दैनौ।

11:6b.ECC.011.006 यसकारण बिहानै बिऊ छर्न शुरू गर र साँझमा तिम्रो काम नरोक। तिमीलाई थाहा हुँदैन पहिले छरे अथवा पछि छरेको अथवा दुवै कामहरूमा सफलता पाउँछौ।

11:7b.ECC.011.007 उज्यालो आनन्दमय हुन्छ, अनि यो जीउँनको लागि असल हो।

11:8b.ECC.011.008 तिम्रो आयु जतिसुकै लामो रहोस्, जीवनको हरेक दिन आनन्द पूर्वक बिताऊ। तर याद राख, तिमी मर्छौ। अनि जति लामो समय तिमी बाँच्छौ मरे पछि त्यो भन्दा लामो तिम्रो समय बिन्छ प्रत्येक कुरा जे घट्नेछ त्यो व्यर्थ हुन्छ।

11:9b.ECC.011.009 यसकारण हे युवा-युवतीहरू हो जबसम्मा तिमीहरू जवान हुँदै आनन्द मनाऊ। जो मनले भन्छ त्यही गर। प्रसन्न रहौ। जो तिमीहरूको इच्छा छ त्यही गर। तर याद राख, तिमीहरूको प्रत्येक कर्म अनुसार परमेश्वरले न्याय गर्नेछन्।

11:10b.ECC.011.010 रिसले तिमीलाई वशमा नराखोस् अनि शरीरले पाप गर्न नलगाओस् किनभने युवा अवस्था व्यर्थको हुन्छ।

12

12:1b.ECC.012.001 सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। बुढेसकाल आउन अघि समय नै उनलाई सम्झ। उमेर ढले पछि। मैले मेरो जीवन खेर फालें।” भन्नु नपरोस्।

12:2b.ECC.012.002 सानै उमेरदेखि आफ्ना सृष्टिकर्त्ताको स्मरण गर। जब सूर्य, चन्द्र र ताराहरू तिमीलाई अँध्यारो लाग्दछ जब एउटा आँधी पछि अर्को आँधी आए जस्तो घरि-घरि आपत आइपर्दछ। त्यसभन्दा अघि नै परमेश्वरलाई सम्झ।

12:3b.ECC.012.003 त्यसबेला तिम्रा पाखुराहरू कमजोर बन्छन्। तिम्रा पाउहरू लुला र बाङ्गा बन्छन्। तिम्रा दाँतहरू झर्छन् र तिमी आफ्नो खाना समेत चबाएर खान नसक्ने हुन्छौ। आँखाले सफासित देख्दैनौ।

12:4b.ECC.012.004 तिमी कान नसुन्ने हुन्छौ। बाटोका हल्ला खल्ला तिमी सुन्नसक्ने छैनौ। अन्न पिधिरहेको जाँतो पनि तिमीलाई शान्त लाग्छ। स्त्रीहरूले गाएको तिमीले सुन्न सक्ने छैनौ। बिहान एउटा चरा समेतले तिमीलाई बिउँझाइदिन्छ किनकि तिमी सुत्नै पनि सक्दैनौ।

12:5b.ECC.012.005 डाँडाहरू देखि तिमीलाई डर लाग्छ। बाटोका स-साना ढुङ्गा देखि पनि लडछु कि भन्ने डर लाग्छ। तिम्रा केशहरू बदामका फुल जस्तै सेतै हुन्छन्। हिडदा खेरी एउटा फटेंग्राले जस्तै तिमीले आफूलाई घिसार्छौ। तिम्रो बाच्ने इच्छा पनि हुँदैन, अनि त तिमी आफ्नो सदाको घरमा जानेछौ। अनि तिम्रा शरीरलाई दफन गर्न लैजाने मलामीहरू बाटोमा थुप्रने छन्।

12:6b.ECC.012.006 चाँदीको तार चुँडिन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री इनारमा फुट्नु अघि अनि पाङग्रो जलाशयमा झर्नु पहिल्यै जब तिमीहरू युवास्थामा छौ तिम्रा सृष्टिकर्त्तालाई याद गर।

12:7b.ECC.012.007 तिम्रो शरीर माटोबाट बनिएको हो। मरेपछि पनि माटोमै फर्कन्छ। तर आत्मा जुन परमेश्वरबाट आयो मरेपछि त्यो आत्मा परमेश्वरकहाँ जानेछ।

12:8b.ECC.012.008 सब थोक व्यर्थ छ। उपदेशक भन्छन् यी सब समयको बरबादी मात्र हो।

12:9b.ECC.012.009 उपदेशक खुबै ज्ञानी थिए। उनले मानिसहरूलाई शिक्षा दिन आफ्नो ज्ञानको प्रयोग गरे। उपदेशकले खुबै सावधानीसित अध्यायन गरे र धेरै शक्तिहरूलाई सम्पादन गरे।

12:10b.ECC.012.010 उचित शब्दको लागि उपदेशकले ठूलो परिश्रम गरे। अनि उनले ती शिक्षाहरू लेखे जुन सत्य र भरोसापूर्ण छन्।

12:11b.ECC.012.011 ज्ञानी मानिसको शब्दहरू छरिता सिर्कना जस्ता हुन्छन् जसको प्रयोग मानिसहरू पशुहरूलाई ठीक बाटोमा हिंडाउँन गर्छन्। ती शिक्षाहरू दह्रिलो प्रकारले ठोकेको काँटीहरू झैं हुन्छन् ती एउटा गोठालाबाट आउँछन्।

12:12b.ECC.012.012 यसर्थ मेरा छोरा-छोरीहरू हो। ती उपदेशहरू पढ। तर अरू किताबहरू देखि सतर्क रहौ। मानिसहरू किताब लेखिनै रहन्छन् र धेरै पढाइले तिमीलाई थकित बनाउँछ।

12:13b.ECC.012.013 अब, किताबमा लेखिएका ती सबै कुराहरूबाट हामी के सिक्छौ त? सबभन्दा महत्वपूर्ण कुरो हो परमेश्वरलाई आदर गर र उहाँको आज्ञा मान।

12:14b.ECC.012.014 किनकि मानिसहरू जे गर्छन ती सब परमेश्वर जानुहुन्छ गुप्त कुरा समेत उहाँ जानुहुन्छ। सबै राम्रा कुरा नराम्रा उहाँ जानुहुन्छ। मानिसले गरेको प्रत्येक कर्मको उहाँ न्याय गर्नुहुन्छ।


Holder of rights
Multilingual Bible Corpus

Citation Suggestion for this Object
TextGrid Repository (2025). Nepali Collection. Ecclesiastes (Nepali). Ecclesiastes (Nepali). Multilingual Parallel Bible Corpus. Multilingual Bible Corpus. https://hdl.handle.net/21.11113/0000-0016-AD05-0